तमू ल्होसार भनेको के हो, यो किन र कसरी मनाइन्छ?

0
तमू ल्होसार
गुरुङ समुदायले 'ल्हो' तथा बर्षहरु बाह्रवटा भएको विश्वास गर्छन् । यसरी यस समुदायले बाह्र वर्षमा एक युगको परिकल्पना गरेको हुन्छ । गुरुङ समाजमा जान लागेको पुरानो बर्षको विदाई गर्नका लागि ल्होसार आउनुभन्दा २/३ दिन पहिलेदेखि लामाहरू आमन्त्रण गरी भव्य पूजा गरिन्छ । बाह्र वर्षको नाम पशुपंछी र जीव जन्तुका नामबाट राखिएको हुन्छ । तमू ल्होसार भनेको गुरुङ जातीको नयाँ नयाँ वर्ष हो । यो पुस महिनाको १५ गते पर्छ । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सवंत सुरु भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ । 
ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा 'नयाँ वर्ष आयो' भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ । ल्होसारको दिन गुरूङ जातिहरु आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरुले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । अन्य जातले जस्तै गुरूङ जातिहरुको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरुमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरूसँग रमाइलो गर्छन् । तमु पात्रो तमु पात्रोमा १२ वटा वर्ग हुन्छन् । वर्गहरुको नाम विभिन्न जनावरहरुको नामबाट नामाकरण गरिएको छ र यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेषता सबै लामा शास्त्र र पच्यु शास्त्र अनुसार थाह पाउन सकिन्छ । तमूहरुको ल्हो यसप्रकार हुन्छ:
‍‍१. ‍‍‍मुसा वर्ग (च्यु-ल्हो)
२. गाई वर्ग (ल्वोँ-ल्हो)
३. बाघ वर्ग (तो-ल्हो)
४. बिरालो वर्ग (हि-ल्हो)
५. गिद्द वर्ग (मुप्री-ल्हो)
६. सर्प वर्ग (सप्री-ल्हो)
७. घोडा वर्ग (त-ल्हो)
८.भेंडा वर्ग (ल्हु-ल्हो)
९. बादर वर्ग (प्र-ल्हो)
१०. चरा वर्ग (च्हया-ल्हो)
११. कुकुर वर्ग (खि-ल्हो)
१२. मृग वर्ग (फो-ल्हो)

तमू ल्होसार
तमूहरुले कृष्णपक्षीय चतुर्दशीको दिन अथवा जान लागेको पुरानो बर्षको विदाई कार्यक्रममा गु थुग्पा खान्छन् । नौ किसिमका विभिन्न गेडागुडीहरू हालेर थुग्पा पकाई घरको जहान परिवार सबै एकै ठाउँमा जम्मा भई रमाइलो गरी गु थुग्पा खान्छ । त्यसपछि आउन लागेको ल्होसारको लागि विशेष गरी घरहरू सजाइन्छ । भरको भित्ता पाखामा स्वस्ति चिन्हहरू कोर्दछन् । चाङका चाङ रोटी (खमस्य) पकाएर थुपार्छन्। ल्होसारको विहान प्रातकाल पानी लिएर देवतालाई शुद्ध पानी चढाई यो बर्ष मंगलमय वातावरणमा बित्तोस भनी प्रार्थना गर्छन । विभिन्न चिज विज हालेर बनाएको पीठोको परिकार (क्षेमर) र अमृत खाने गर्छन् । घरको आँगन र डाँडा पाखामा रंगीचंगी झण्डाहरू फरफराउँछन् सेरङसेरक्येम (कुलदेवता बुझाउन) लगाउँछन् । आफ्नो समूहका ठूलाबडा र गोम्पा तथा बौद्ध (चैत्य) को दर्शन गरी शुभ आशिर्वाद लिन्छन् । घरको आँगनमा ध्वजा उठाई साङ सेरक्येमको पूजा सिद्धिएपछि घरपरिवार सबैले “किकी सो सो ल्ह ग्यल्लो” (देवताको जय, दानवको पराजय) भनि जयका प्रतीक सेतो पीठो उडाएर एकदम रमाइलो गर्ने गरिन्छ । त्यस पछि दोश्रो दिनबाट फेरि गोम्पा वा सार्वजनिक स्थलमा भेलाभई एक आपसमा टशि देलेक आदानप्रदान गर्दै आफ्ना मौलिक भेषभूषामा उभिएर मिठोमिठो खानेकुराहरू आदान–प्रदान गरी ल्होसार मनाउने गर्छन् । ज्योतिषशास्त्र र भौगालिक बस्तुस्थिति अनुसार पुस महिनाको शुक्लपक्षको परेवा तिथिबाट चन्द्र, सूर्य र अन्य ग्रह नक्षत्रहर दक्षिण तिर जाने क्रम सिद्धिएर उत्तरतिर फर्केको हुन्छ । यस अवसरमा भूमण्डलमा स्थान जमाएर बसेका सिमेभूमे देवदेवी र नाग नागिनी किरा फट्याङ्ग्राहरू पनि आफ्नो ठाउँ छोडेर अन्यत्र सरेर जान्छन् भन्ने विश्वास गरिएको छ। त्यस बेला भौगोलिक बस्तुस्थिति अनुसार बर्ष फिर्ने हुँदा ल्होसार मान्ने गरेको हो ।
(द्रष्टव्य: सबै ठाउँमा ल्होसार मनाउने तरिका उहीँ नहुन पनि सक्छ र यो लेखमा विभिन्न विद्वानहरुको सहयोगमा तयार पारिएको हो ।)

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top