लग्दा गाउँ कसरी अनि कहाँबाट सुरु भयो?

0
Lagda Village on Map
लग्दा गाउँ धरातलको हिसाबले समुद्री सतहबाट १०२८ मिटर उचाईमा पर्छ । लग्दा नाम "लगता" बाट पुर्नःमार्जित भएर आएको परिवर्तित नाम हो । कतिपय बुढा पाका अनुसार "लगता" अप्रभ्रंश यानकि उच्चारणमा गल्ती भएर स्वयं बनेको लग्दाको अर्को "अप्रभंशित नाम" हो भनेर पनि दाबी गरेको पाइन्छ । तर, वास्तविक ठोस प्रमाण पाउन नसकेकाले दुबै किवदन्तीलाई सत्य मान्न सकिँदैन । बिज्ञानसँग सम्बन्धित गराएर चर्चा गर्नुपर्दा हाल लग्दा नाम गरेको नक्सा हामीले गुगल म्यापमा पाउन सक्दैनौं । हामीले 'लगता' नै राखेर हेर्ने हो भने लग्दा गाउँको केही नक्साहरु गुगल म्याप (नक्सा) मा देखिन्छ । 
आज भन्दा लगभग छ सात बर्ष अगाडी, जुन बेला फेसबुक र ट्विटर बढी प्रचलनमा आएको थिएन त्यस बेला मैले लग्दा शब्द प्रयोग गरेर इन्टरनेटमा खोजी गर्दा कुनै शब्दसँग मेल खाएको थिएन । अपसोँच, लग्दा विदेशी ठाउँको नामको रुपमा देखा पर्दा मलाई कता हो कता निकै नमज्जा लागेको थियो र मैले त्यतिबेला देखि नै प्रण गरेँ कि लग्दा शब्द इन्टरनेटमा छरपस्ट देखिने हुनुपर्छ । यसलाई भाइरल बनाउनको लागि मैले लग्दाको एक सामाजिक संस्था (ल्होम्बाँस युवा क्लब) को नाम राखेर एउटा फेसबुक ग्रुपको परिकल्पना गरेँ र तत्कालै बनाएँ पनि । बिस्तारै यो मल्याङ्कोट, केवरेभञ्याङ, मनकानमा, एलादी, जगतभञ्ज्याङ, दिसिङ्कोट आदी जस्ता गाबिसको फेसबुक प्रयोगकर्ताको माझमा लोकप्रिय बन्दै गयो तर हाल एउटा क्लबको सदस्यहरुको मात्र ग्रुप बनेर स्थिर बनेको छ । अहिले लग्दा गाउँको चिनारिको रुपमा फेसबुक पेज, ट्विटर एकाउन्ट, फ्रिकर र गुगल प्लस समेत रहेको छ । यो त भयो बर्तमान लग्दाको परिचय तर मैले यहाँ राख्न खोजेको बिषयबस्तु अर्कै रहेको छ - लग्दा गाउँको ऐतिहाँसिक बिकासक्रम र अस्थित्वको बारेमा केही चर्चा परिचर्चा । लग्दा गाउँको बारेमा अध्यन र सोधखोज गर्ने क्रममा मैले लग्दा गाउँको बारेमा केही तथ्यहरु तयार गरेको छु । कृपया; केही गल्ती र भ्रमिक तथ्य लेखेको रहेछु भने यसलाई सुधार गर्नको लागि info@lhombash.com.np मा इमेल पठाउनुहोला ।

लग्दा गाउँ, यानकि मध्यम हावापानी र जीवनशैली भएको गाउँ… यहाँ नत जाडोमा बढी जाडो हुन्छ न त गर्मिमा बढी गर्मि - केवल मध्यम हावापानी । यस गाउँमा सर्बप्रथम पालजाहरुको बस्ती स्थापित हुन पुग्यो । दुइजना पालजा बाजेहरु नेपाल (काठमाडौ) मा जागिर गर्नुहुन्थ्यो । (उक्त बुढाहरु रिसिङ घिरिङको भनिन्छ ।) जागिर गरेर काठमाडौबाट यस भेगमा आउँदै गर्दा उनीहरूसँग एउटा सानो गरिब केटासँग जम्काभेट भयो । त्यो केटासँग परिचय हुने क्रममा दुई बुढाहरुले उसको जात र गोत्रा सोध्यो । केटाले म गुरुङ हुँ र म पह्च्यु थरको हो भनेर जवाफ दिए । उक्त केटाले दुई पालजा बुढाहरुलाई मलाई पनि साथमा लैजानुस भन्यो । एउटा बुढाले हुन्छ, मेरो जुत्ता पालिस गरिदे र घरको काम धन्दा गरिदे भनेर नोकर बनाउनको लागि त्यो केटालाई लिएर लग्दा भेगमा पहिलोचोटि पाइला टेक्यो । बुढाहरुलाई यो गाउँ अती नै मन पर्यो र यहीँ बस्ने निर्णय गरेर एउटा बुढा मुख्या टोलमा र अर्को बुढा कोरो टोलमा बस्न थाल्यो । त्यो नोकर बनाउनको लागि ल्याएको केटालाई कोरोमा बस्ने बुढाले आफूसँग राख्यो । समय बित्दै गयो । बुढाहरु बूढो भए । मुख्या टोलमा बस्ने बुढा (प्यूलो बुढा) बाट बर्दुको पालजा, डिठ्ठाको पालजा लगायतको खलक बन्यो भने कोरो टोलको बुढाहरुबाट कोरोको पालजा, क्यानोसोराको पालजाहरुको खलक बन्यो । बुढाहरु बूढो भए र नोकर केटा जवान भए । कोरोको बुढाले केटालाई नोकर गरेर बसेको पारिश्रमिक पेन्सन स्वरुप दिएर पठाउन खोज्यो तर त्यो केटा गाउँ छोड्न नमानेपछि बुढाले आफ्नो छोरी र जग्गाजमिन दाइजो स्वरुप दिएर ज्वाइँ बनायो । त्यो प्हच्यु केटा क्युँदु टोलमा आएर बस्यो र त्यहीँबाट प्हच्युहरुको खलक पनि फैलिँदै गयो ।
यसरी बसाई सराई गर्दै आउने जाने गर्ने क्रममा पक्कान भन्ने ठाउँबाट तल्लो गाउँको जोगीहरु (हाल कुँवार) हरु आयो । त्यस्तै, गरि तल्लो च्यारेबाट माथराको च्हक्लीहरु, त्यस्तै गरेर माथिल्लो गाउँको च्हाक्ली, क्रोम्जा, डाडाँ तिरको पालजा र काउरोबोटे तिरको पालजाहरु ओल्फु क्होल्फु जस्ता विभिन्न ठाउँबाट बसाइँ सरेर आए, पोम्दि र अन्य ठाउँबाट ठकुरीहरु र एउटा दमाईहरु बस्ती बसाल्न आयो र लग्दामा ७०-८० घर बन्न पुग्यो ।

पुनःश्च - लग्दा गाउँको बारेमा थप तथ्य सहितको पुरा जानकारी सहिद लग्दा गाउँको बारेमा थप स्पस्टिकरण दिनको लागि हाम्रो आदरणिय मामा एवं गुरु - एल आई सि मार्केटिङ म्यानेजर श्री रुक बहादुर गुरुङले "लग्दा गाउँको चिनारी" भन्ने तथ्यसहितको किताब प्रकाशनमा ल्याउँदै हुनुहुन्छ प्रतीक्षा गर्नुहोला ।
नोट : यो तथ्य अनुमानिय ८३ भन्दा बढी उमेर भएको कोरो माझघरे बज्यैबाट केहीँ तथ्यहरु लिएर आफ्नै तरिकाले लेखेको हुँ । केही गल्ती र कमि कमजोरी भए माफि चाहन्छु र त्रुत्रि भएमा औँल्याइदिनुहोला । धन्यबाद !

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top