मारूनी नाच र यससँग सम्बन्धित केही तथ्यहरु

0
मारूनी नाच नेपालको परम्परागत नाच हो। पुरुषलाई महिलाको कपडा पहिराएर मारूनी बनाएर मादलको तालमा पुराना पौराणिक कथाहरूमा आधारीत गीतहरू गाएर नाचिने यो नाच नेपालका मगर, गुरुङ, तामाङ, लिम्बू जातीको मुख्य संस्कृति रहेता पनि यो नाच प्रायः सबै ठाउँमा सबै जातीले अपनाएको देखिन्छ। तर अब आएर यो मारुनी नाच लोप हुने परिस्थीतीमा पुगी सकेको छ।
Maruni Dance
मारुनी नाँचमा दुइ जना मारुनी दुई देखि तिनजना मादले (मादल बजाउने मान्छे), एक जना पुरसिँगे र ६ जना देखि १० जनासम्म गायकहरू हुन्छन्। गायकहरूमा एक जना गुरु हुन्छ जसलाई मारुनी नाचको बारेमा सबै थाहा छ त्यसैलाई मात्र गुरु मानिएको हुन्छ। खास गरेर दशैँ, तिहार, देउसी, भैलीमा यो मारूनी नाँच नाचेको देखिन्छ।

मारुनी नाचको प्रमुख पात्रहरू:

Maruni Nach
  • मारूनी - मारुनी नै यो मारूनी नाचको मुख्य पात्र हुन्। दुइ जना जुँगा दाडी नआएका कलिला केटाहरू अथवा जुँगा दारी खौराएका ठुला पुरुष मानिसलाई महिलाको कपडा जस्तै; चोलो, गुन्यू, चुरा, पोते, तिलहरी आदी र महिलाले लगाउने गहनाहरू पहिराएर मारुनी बनाइन्छ। मारूनीहरू मादलेसँगै अगाडी पछाडी घुमेर नाँच्दछन्। मारुनीलाई सिङारू (सिंगारीयको मान्छे) पनि भनिएको सुनिन्छ। सिङारू एकपटक बनिसकेपछि नाचको पुरा अवधिसम्म तिनै मानिसहरू बाहेक अरु बदलिन पाउदैनन्।

  • पुरसिङे - पुरसिङे मारुनीहरू सँगै नाच्ने एक अर्को पात्र हो। पुरसिङेले महिलाको कपडा लगाएको हुदैन यदि मारुनी नाँचमा तिन जना मादलेहरू छन् अथवा एकजना मात्र मारुनी छ भने त्यहाँ पुरसिङेलाई एक जना मादलेसँग नाच्ने जिम्मा दिइन्छ। पुरसिङेले हाउभाउ पुरै मारुनीकै मिलाउनी पर्ने भएकाले यसलाई पुरसिङे (सिङारुको काम पुरा गर्ने) को उपाधी दिएको हुनुपर्छ। पुरसिङेहरू एकपछि अर्को बदलिएर नाँच्न सक्छन् यसको लागि नाच्ने कला हुनु जरुरी छ।

  • मादले - मादलेहरू मारूनी नचाउदै मादलेको पदबाटै थाह भएको छ कि यिनीहरू मादल बजाउने मान्छे हुन्छन्।मादलेहरूले मादल कमरमा भिरेर बजाउदै मारूनीसँगै नाच्ने गर्छन्। मादलेहरूमा एकजना गुरु मादल भिरेको हुन्छ गुरु मादल बजाउने मान्छेले मादलको ताल निकाल्छ। यदी मादलको ताल बिग्रियो भने र गुरुलाई स्वर तथा गीत परिवर्तनको संकेत दिनु परेमा गुरु मादल बजाउने मादलेले नै मादलमा जोरले ठोकेर ताल दिन्छ अथवा गुरुको अगाडी गएर मादल ठोक्छ। यसैगरी मारूनीलाई नचाउने मुख्य काम मादलेहरूको हो। मादलेहरू एक पछि अर्को बदलिन सक्छ।

  • लाखे - लाखे पनि मारूनी नाचको एक मुख्य पात्र हो। एक जनालाई मुखमा लाखे खपर अथवा कार्टुनिस्टहरूले प्रयोग गर्ने मुखौटा लगाएर र शरीरमा पराल बाँधेर एक लाखे बनाइन्छ। लाखेको हातमा एक बांगे लौरो हुन्छ। लाखेको मुख्य काम नाँचमा व्यांगात्मक कलाहरू देखाएर मनोरंजन गराउनु हो। यो बाहेक लाखेले दर्शकहरूबाट केही पैँसा माग्नेे पनि गर्छ। लाखेलाई मारूनीको पतिको रूपमा बनाइएको हुन्छ।

मारुनी नाचमा प्रयोग हुने बाजाहरू:


मारूनी नाचमा प्रयोग हुने बाजामा मादल मुख्य बाजा हो, मादलमा एक गुरु मादल पनि हुन्छ। मादल मादलेहरूले कम्मरमा भिरेर बजाउदै नाँच्दछन्। यसै गरी खाँकर अर्को मुख्य बाजा हो, खाँकरलाई मारुनी तथा मादलेहरूले नाँच्दा खुट्टामा लगाउँछन्। खाँकर एक पितल र काँसोको मिश्रण धातु (जसलाई नेपालको गाउँले भाषामा "भरत धातु" पनि भनिन्छ) बाट बनेको गोलाकार रिँग हो। रिँग भित्र सानासाना फलामका गोटीहरू भरेको हुन्छ, जसले गर्दा खाँकर हल्लिदाँ "छम-छम" गरेर बज्दछ। यसै गरी मंजीरा मारूनी नाचमा प्रयोग गरिने अर्को बाजा हो। मंजीरा गायक टोलीले बजाउने गर्छन्। मारूनी नाचमा अन्य बाजाहरूमा बाँसुरी, मोरचंगा, हारमुनियम, गितार आदी आधुनीक बाजाहरूको पनि प्रयोग गर्न सकिन्छ।

केही प्रचलित गीतहरू:

मारूनी नाचमा मारूनी नचाउनको लागि पौराणिक कथामा आधारीत गीतहरू गाइन्छन्। यसका साथै मारूनीको रूपको वर्णन, नाचको सुरुवात तथा अन्तमा प्रयोग हुने आरम्भ गित र अन्त्य गित, नाचको बीच बीचमा सल्याणी टप्का आदी पनि गाइन्छन्। गितका केही उदाहरणहरू यहाँ दिइएका छन्।

आरम्भ गीत
"पूरवै सुमेरू, पश्चीमै सुमेरू धार मधुम। चारै दिशा चारे किल्ला सुमेरू धार मधुम॥"
अथवा, पूर्व, पश्चीम, उत्तर, दक्षिण चारै दिशा चारै किल्लालाई बाँधेर राख्छौँ ताकि हाम्रो कार्यमा कुनै बाधा न आवस्।
"उघारैलो, उघारैलो, सुनकै सँघार रूपकै द्वार उघारैलो, धारमी द्वार उघारैलो।"
अथवा, सुनको दरबाजा र रूपको खाँबा (सँघार) भएको यो संस्कृतिको ढोका उघारौँ।
"शरण देउन माया सरस्वती देवीलाई शरण देउ।"
अथवा, हामीहरू सबै मिलेर हाम्रा देवी देवताहरूलाई प्रणाम गरौँ। (यसमा सरस्वतीको मात्र नभएर सबै देवी देवताहरूको नाम लिइन्छ।)

रामायणमा आधारित गीतहरू:
"बारहै बरषको सोमवारे औँसी लैजाउ लैजाउ श्रवण तिरथ घुमाउन।"
अथवा, बाह्र बर्षमा एक पटक सोमवार औँसी परेकोले यो पुण्य तिथीमा श्रवण कुमारका आमा बाबुले तिर्थ घुम्ने इच्छा प्रकट गर्छन्। "शिव शिव राम राम भानिजलाई बाण लाग्यो।" अथवा श्रवण कुमारले आफ्ना आमा बाबुलाई घुमाउन लगेको क्रममा जंगलको कुवामा पानी भर्दा राजा दशरथको बाण लागेर घाइते श्रवण कुमारलाई देखेर राजा दशरथले पश्चाताप गर्छन्। यसै प्रकार रामायण तथा महाभारतका कथाहरूलाई गीतहरूको पारामा ढालेर गाएर मारूनीलाई नचाइन्छ।

मारूनीलाई फुल्ल्याउने गीतहरू
"शिरखण्ड काठको मादलु मेरो बजाउ गुरु दम दम, नाच मेरी मारूनै आगनीमा छम छम।"
"नाच मारूनै मादलेको अगी पछि नाच मारुनै।"
यस्तै प्रकारका अनेक गितहरू बीच बीचमा गाएर मारूनीको हौशला बढाएर नचाइन्छ।

टप्का : टप्का सल्यान जिल्ला तिरको प्रचलित गीत भएर होला यसलाई सल्यानी टप्का पनि भने सुनिन्छ।

केही टप्काहरू:
चामल सरी आटो जुमलाको तिते फापर, जुम्ला जाने बाटो सिकाइ देउन मारुनी।
सँगै जाउँला बेँसी सितल पाटी झर्यौ भने, बनाइएल्यो आँसी, चिर्ते मिर्ते फलामको।
यस्तै प्रकारका अनेकौँ टप्काहरू नाचको बिच बिचमा गाएर रमाइलो टप्का नाच नाचिन्छ।

बीट मार्ने गीतहरूः मारूनी नाचको अन्तमा बीट मार्ने गीतहरू गाएर मारूनीले लगाएका कपडा गहना आदी फुकाल्न लगाइन्छ।

केही बीट मार्ने गीतहरू:
शिरैको शिरफूल खेएर राख, हिजो थीयौ जनाना आज मरिद।
आङको चोलिया खोएर राख, हिजो थियौ जनाना आज मरिद।
यसरी नै बिट मार्ने गितहरू गाएर मारूनीको पहिरन उतार्न लगाएर मारूनी नाचको बीट मारीन्छ।

नाचको परम्परागत नियम
मारूनी नाच नेपाली समुदायको परम्परागत नृत्य भएता पनि यो नाचलाई जहिले कहिले जहाँ तहीं प्रदर्शन गर्दा अनिष्ठ हुन्छ भन्ने विश्वास गरिन्छ । मारूनी नाच प्रदर्शन गर्ने समुदायहरूमा दशैंको फूलपातीको दिन विशेष पूजा आजाका साथ नाचको आरम्भ गरिन्छ अथवा नाच बाँधिन्छ भने दशैं र तिहारको समयमा देउसी, भैलो, खेल्दा मारूनी नाचको प्रदर्शन गरिन्छ । चाडवाडहरू सिद्धिएपछी फेरी विशिष पूजाआजा गरेर नाच फुकुवा गरिन्छ अथवा नाचको अन्त गरिन्छ । नाच फुकुवा गरीसके पछी नाचमा प्रयोग गरिने मादल, खाँकर, मारूनीको लुगा, लाखेको खपर र लौरो आदी सबै सामानहरू लुकाएर राखिन्छ । यसरी नाच फुकाइ सकेपछी अर्को वर्ष नाच नबाँधुन्जेलसम्म नाचको प्रदर्शन गर्नु त परै जावस यदी गुरु मादल बजेको सुनिएमा पनि अनिष्ठ हुन्छ भन्ने जन विश्वास गरिन्छ ।
पुनश्च: सबै ठाउँ, जातजाति, भेेग र क्षेत्रहरुमा यसको शास्त्रीय कथाबस्तु, पात्रहरु र गितहरु समान नहुन सक्छ । सन्दर्भ सामग्री विकिपेडिया र भिडियो युट्युबबाट लिइएको हो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top