ल्होम्बाँस युवा क्लबद्वारा ३४ औं वार्षिकोत्सव तथा हिन्दुहरूको महान पर्व विजया दशमीको पावन अवसरमा आयोजित साविक वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रमको समापन हिजो मिति २०७९ असोज २९ गते सभ्य र भव्यताकासाथ सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि चापाकोट नगरपालिकाका नगर प्रमुख एवम् विकासप्रेमी युवा नेता देव बहादुर खाँण (इश्वर) रहनु भएको थियो । विशिष्ट अतिथिमा उपमेयर इशा राना, जिल्ला समन्वय समिति स्याङ्जाका सदस्य गिता खाँण, चापाकोट नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अर्जुन कुमार खाँण तथा नेपाली कांग्रेसका युवा नेता शेषकान्त पुरी लगायतका रहनुभएको थियो । अन्य अतिथीहरुमा समाजसेवी, क्लवको संस्थापकहरु, भू.पू. खेलाडी, नगर वडा समितिका पदाधिकारी, राजनितीक दलका पदाधिकारी, आमा समूह, छिमेकी गाउँका युवा क्लबका पदाधिकारीहरु एवम् अन्य पाहुनाहरु र दर्शकहरुको बेजोड उपस्थिति रहेको थियो ।
कार्यक्रममा क्लवको सचिव पूर्ण बहादुर परियारद्वारा स्वागत मनतव्य व्यक्त भयो । उहाँले नगर प्रमुख तथा अन्य पदाधिकारीहरु समक्ष लग्दा गाउँको शिक्षा, सडक, विकास निर्माणको कार्यहरू लगायत अन्य क्षेत्रहरुमा गाउँबासीले खेप्नुपरेको समस्याको बारेमा प्रस्ट्याउँदै उक्त समस्यालाई राम्ररी सुल्झाउन जनप्रतिनिधिहरु समक्ष आग्रह गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथीको रुपमा रहनुभएको नगरपालिका उपप्रमुख ईशा रानाले ल्होम्बाँस क्लवले ३४ औं वार्षिकोत्सव मनाउन सफल भएकोमा क्लव परिवारलाई बधाई दिँदै प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि भएको हैसियतले नगर तथा गाउँको विकासमा आफूहरु सक्रिय भूमिका निर्वाह गर्ने बचनबद्धता गर्नुभयो । एवम् रितले, चापाकोट वडा नं. ५ निवासी नेपाली कांग्रेसका युवा नेता शेषकान्त पुरी ज्यूले गुरुङहरुको बाहुल्यता रहेको लग्दाबासीलाई गुरुङहरुको गौरवपूर्ण इतिहास, अस्थित्व तथा वर्तमान अवस्थाको बारेमा संक्षिप्त विवेचना गर्दै भलिवल खेल, यसको सुरुवात, हालसम्मका ऐतिहासिक उपलब्धिहरु र खेलाडीहरुका राष्ट्रप्रतीको दायित्वहरु समेतका बारेमा प्रष्ट्याउँदै मन्तव्य व्यक्त गर्नुभयो ।
कार्यक्रमको प्रमुख केन्द्रबिन्दुको रुपमा रहनुभएको मेयर देब बहादुर खाँण (इश्वर) ले लग्दा गाउँको निम्ति आफू नगर प्रमुख पदमा निर्वाचित भएको दिनदेखि नै लागि परेको र आगामी दिनमा पनि लागिपर्ने कुरामा विश्वस्त गराउनुभयो । उहाँले हाल निर्माणधिन लग्दा क्होइबो धिं निर्माण कार्य सम्पन्नताको लागि नगरपालिकाबाट आवश्यक बजेट विनियोजन गर्ने र ३४ औं वार्षिकोत्वको अवसरमा आयोजित भलिवल प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा अतिथि, खेल सञ्चालक एम्पायर, सम्पूर्ण प्रायोजक तथा सहयोग दाताहरुलाई मायाँको चिनो वितरण र सम्मान पश्चात् खेलकुदका विभिन्न विधामा उत्कृष्टता एवम् स्थान हाँसिल गर्न सफल प्रतियोगितीहरुलाई पुरस्कृत गरियो ।
![]() |
घेैँटो फोड प्रतियोगिताको विजेता संजय थापा |
कुर्सी दौड प्रतियोगितामा विजयी आमा समूहका सदस्यहरु तालमायाँ गुरुङ र लोकमायाँ गुरुङ दुबैलाई लोकल भाले, माल्यार्पण र टीका सहित सम्मान पुरस्कार वितरण गरियो । घैँटो फोड प्रतियोगितामा विजयी जनशक्ति युवा क्लबका सञ्जय थापालाई पनि लोकल भाले माल्यार्पण र टीका सहित पुरस्कृत गरियो । पुरुष भलिबल खेलमा सान्त्वना स्थान हाँसिल गर्न सफल जनशक्ति युवा क्लब, च्यारेका खेलाडीहरुलाई नगद रु. दस हजार, ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरियो । त्यसैगरी क्रमशः तृतीय, द्वितीय र प्रथम स्थान हाँसिल गर्न सफल कालिका युवा क्लब, पेल्काचौर; ल्होम्बाँस युवा क्लब, लग्दा र चक्रकला युवा क्लब, लामडाँडाका सम्पूर्ण खेलाडीहरुलाई पोजिसन अनुसार क्रमशः नगद रु. बीस हजार; चालिस हजार र साठी हजारका साथै ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरियो ।
यस बर्षको खेलमा अनुशासित खेलाडीको रुपमा जनशक्ति युवा क्लबका बिशाल गुरुङ पुरस्कृत भएका छन् । बेस्ट डिफेन्डिङ खेलाडीको रुपमा चक्रकला युवा क्लबका आशिष पुलामी, बेस्ट ब्लकर चक्रकला युवा क्लबकै रबी पुलामी, बेस्ट क्विकर कालिका युवा क्लबका चेत प्रसाद गुरुङ, बेस्ट सेटर कालिका युवा क्लबकै विवश खड्का, बेस्ट स्पाइकर ल्होम्बाँस युवा क्लबका किसान गुरुङ र बेस्ट प्लेयर चक्रकला युवा क्लबका विवश पुलामी भएका छन् ।
पुरस्कार वितरणसंगै ल्होबाँस युवा क्लबले क्लबका सदस्य तथा उदायमान खेलाडी किसान गुरुङलाई राष्ट्रपति रनिङ शिल्डमा प्रदेशको कप्तानी गर्दै गाउँको गौरवलाई उच्च बनाएकोले मायाको चिनो प्रदान गरि सम्मान गरेको छ ।
कार्यक्रममा ल्होबाँस युवा क्लबका सदस्य, स्थानीय कलाकारहरू तथा अतिथी कलाकारहरुद्वारा गायन तथा नृत्य प्रस्तुति भयो । कार्यक्रम क्लबको अध्यक्ष खिम बहादुर गुरुङको अध्यक्ष्तामा सञ्चालन भएको थियो भने कार्यक्रम सञ्चालन रुद्र गुरुङ द्वारा भएको थियो । कार्यक्रमको केही अंशहरु क्लबको फेसबुक लाइभद्वारा पनि प्रत्यक्ष प्रसारण भएको थियो ।